उनी र म (यादोद्गारहरू)

मेरो निजी जीवनको बारेमा, मेरो आफ्नै अनुभूतिहरू पोखेको छु यहाँ।

2014-को दशैंको टीकापछि लिइएको तस्वीर।
अन्तमा युद्ध जितिन्छ भन्ने भावोद्गारहरूमा अन्तर्निहित अर्थानुभूत गर्दागर्दै विश्वासले सहयोग नगरेका पलहरूमा छतविक्षत भएका दिनहरूमार्फत भएर आफू गुज्रिनुपर्छ भन्ने कतै, कुनै शङ्का र सङ्केतसम्म आफ्नो जीवनका कुनै पनि पन्नामा नभएको अवस्थामा यो एउटा महायथार्थ कटुसत्य बनिदियो कि जिन्दगी भोग्नु र सङ्घर्ष गर्नुको मात्र नभएर गुमाउनुको तीतो अनुभूति सहने र झेलाईको लय बोक्ने संज्ञात्मक नाम पनि रहेछ।
हामी सजाउन त सजाउँछौं संघन सपना एउटा दाम्पत्य जीवनमा भावनात्मक एकात्मपछि उठ्ने लयहरूसित, यसमा प्राकृतिकपन छ र मिलनसार जीवनको सार पनि यस्तै हुन्छ, त्यसैले यो प्रवृति प्राकृत पनि लाग्दछ, यद्यपि त्यो सपनमा हुने सुखद् र हर्षपूर्ण रस साकार रूपमा यदाकदा हाम्रो जीवनमा छरिन्छ भन्न पनि नमिल्ने हुँदोरहेछ। वाध्यताले हामीलाई तानेर कहाँकहाँ पुऱ्याउँछ जसरी बोग्गीलाई तानेर इञ्जिनले कहाँ-कहाँ पुऱ्याउँछ, हिँड्नैपर्छ जब हामी तानिन्छौं त्यो अञ्जान शक्तिद्वारा अनभिज्ञ दिशातिर अनि समयसितै कहाँ उम्रिने र कहाँ टुङ्गिने भन्ने कुरा निर्धारित हुन्छ भन्ने अन्धविश्वासलाई आत्मसात गर्नैपर्छ। हामी त भन्छौं नि – म स्वयं मेरो जीवनको निर्माता हुँ, भनेर; तर यो सय प्रतिशत सत्य छैन। मैले आफूलाई एउटा मान्छे भनिने यथार्थपरक संज्ञावस्तु बनाउन खोज्दाखोज्दै – बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि के को डर?” भन्ने उक्तिलाई आत्मसात गर्नेसम्मको अवस्थामा नधकेलेको होइन, त्यो भयवाह स्थितिले। म ताक्छु मुडो, ब़ञ्चरो ताक्छ घुँडो हुँदा बञ्चरोलाई थन्क्याएर एकछिन बिसाउन र लामो सास लिन सायदै हाम्रो निम्ति लाभकारी हुन्छ। अहिले म त्यसै गर्दैछु। 

त्यतिबेला के भयो, म भन्नसक्छु हजुरलाईहुन त सबैले प्रायः प्रायः एउटै कुरा भन्छन्, धैर्य गर्नु, सम्हालिनु, दह्रो बन्नु र काम लिनु, भविष्य हेर्नु। मलाई पनि सबैले यसै भनेर शान्त्वना दिन्छन्, अझै पनि दिनेगर्छन्। तर यो अरुलाई भनिने कुरा मात्र हो, अफूलाई होइन। म पनि सायद अरुलाई यसै भन्छु, भन्ने गरेको छु। तर आफूलाई परेको बेला आफैलाई सम्हाल्न भने कति गाह्रो हुँदो हो, त्यो भुक्तभोगिले सहजै अनुमान गर्नसक्छ तर बताउन सक्दैन। यो मुखले र शब्दमा बताइनसकिने कुरा होइन। तर अरुलाई सम्झाउनमा यही शब्दहरूको प्रयोग गरिन्छ।
यस्तो भयो मानौं भयङ्कर चट्याङ झऱ्यो नीलो आकाशबाट, अप्रत्याशित, आफैमाथि, मैले अलिकति होस गुमाएँ, मैले अलिकति शान्ति गुमाएँ, मैले अलिकति खुशी गुमाएँ जुन कुराले मेरो जिन्दगी सजाएर राखेको थियो- तिनै-तिनै कुराहरू मैले गुमाएँ फगत म शून्य बनेँ, जुन-ताराहरूमाझको विशाल शून्यताक्षेत्रजस्तो म भयङ्कर शून्य बनेँ। बन्निसकेको कुरालाई भत्काउँदा कस्तो हुन्छ, त्यो पनि ईश्वरको रचना अनि यसरी अचानक उनैद्वारा तोडिँदा।
त्यो अचानक झरेको आगोको मुस्लोले स्वाहा पारिलग्यो मेरो वरिपरिका संसार जुन संहारलाई मैले कुनै पनि रूपमा अन्य संहारहरूसित तुलना गर्न सकेको छुइन। त्यही त भन्दैछु, मानिसले आफ्नो बेदनालाई ठूलो र अरुकोलाई सानो देख्छन्, हो रहेछ। म पनि त्यस्तै हुँदैछु। आफ्नो बेदनालाई ठूलो देख्दैछु। हेर्न र अनुभूत गर्नमा धेरै अन्तर हुन्छ, आफ्नो नियन्त्रणभन्दा बाहिरका कुराहरूलाई नियन्त्रण गर्नखोज्नु पनि मूर्खता नै हुन्छ, तर यो के कुराको नतीजा वा परिणाम वा जे हो, त्यो मेरो निम्ति रहश्यमय रहिरहेको छ। मलाई कुनै पनि कुरा बुझाईको क्षेत्रमा आइसकेको छैन, यसै त उनी थिइन् एउटी अति असल युवती, स्त्री, महिला। घरमा गृहणीको रूपमा, एउटा पुत्रको आमाको रूपमा, घरकी बुहारीको रूपमा, भाउज्युको रूपमा, छिमेकी र इष्ट मित्रहरूको आफ्नो साइनो अनुसार सन्तुलित। एउटा नियन्त्रित रूपमा हिँडिरहेको अवस्थामा पऱ्यो त्यो चट्याङ र बिथोल्यो घरको परिवेश सबै। मैले गुमाउनुपऱ्यो उनलाई। त्यो कति कष्टप्रद र कठीन समय बन्दछ, भोग्नेलाई थाहा हुन्छ।
म पछाडि फर्किएर हेर्छु- उनको र मेरो सम्बन्ध गाँसिएका पलहरूमा पुगेर। दिसम्बर 14, ई.स. 2004 तदानुसार मङ्सिर 29 गते 2061 साल। अग्नि साक्षी राखेर मैले उनलाई आफ्नो अर्धाङ्गिनी बनाएँ, उनको माता-पिताबाट आशीर्वाद लिएर आफ्नो घर लिएर आएँ, एउटा पारिवारिक जीवनको शुरूवात यहींबाट भयो। उनको र मेरो प्रेम विवाह भएको होइन, पहिला विवाह भएको हो अनि पछाड़ि बढ्यो प्रेम, स्वाभाविक रूपले। हुन त उनको र मेरो देखादेख असारकै दिनमा भएको हो। दुइमाझ हल्का कुराकानी भयो, देखादेख भयो। तर लुकिछिपि होइन। उनी दिदीकहाँ बस्थिन्, म एकजना अभिभावकलाई लिएर गएँ त्यहाँ र केही कुराकानी भयो। त्यसपछिको कुराकानी उनका अभिभावकहरूको उपस्थितिमा र मेरा अभिभावकहरूको उपस्थितिमा भयो। कुरा अगाड़ि बढ्यो। विवाह तय भयो मङ्सिरको निम्ति। अनि त कुर्नु थियो त्यो दिनलाई। म सानोतिनो जब गर्ने मान्छे, उनी गर्दैथिइन् नर्सिङ। साधारण नर्स थिइन्, तर मन उनको स्वच्छ र विशाल थियो। सायदै विवाहको समयसम्ममा मैले उनलाई अझ अलिकति नजीकबाट बुझ्ने मौका पाएको थिएँ। यता मसित लगभग कुरा टुङ्गो भए पनि उनको विवाह अन्तै गरिदिने योजनाहरू बनेको उनले सुइँको पाउँदा मलाई खबर गरेकी थिइन्, अनि मैले सोधें, के गरौं त?” उनले भनिन्, केही समय पर्खौं, उनीहरूको जिद्दी बढ़ेछ भने केही गरौं न त। मैले सोधें, तिमी त्यसको निम्ति तयार छौ त?” उनले मुस्कुराएर स्वीकृतिको सङकेत दिइन्। मैले भनें, भरसक मलाई त अग्नि साक्षी राखेर जग्गेबाटै तिमीलाई घर लिएर आउने इच्छा छ, तर हेरौं न त। परिस्थिति विचार गरौं।
केही दिनपछि फेरि कुरा सही मार्गतिर मोडियो, बीचमा कतै हावाले बटार्न खोजेजस्तो गरेको थियो।
दिनकै विवाह थियो, हजुरआमाकै घरबाट सपरिवारले बेहुली बनाएर उनको हात मेरो हातमा थमाइदिनुभएको हो। उनी त विदावारीमा निक्कै रोइन्, रुन्छन् नै वेहुली त, यो प्राकृतिक हो। आफ्नो जन्मको घर छाड़ेर, बाबा-आमालाई टाढ़ा पार्दै, साथी सङ्गीहरूबाट टाढ़ा जानुपर्दा सायदै भावविभोर हुन्छन् र रुन्छन्। मैले उनलाई भनें, म तिम्रो असल साथी हुँ, तिमीले यति धेरै चिन्ता गर्नुपर्दैन। मलाई त्यतिबेला एउटा कुरा अचानक मनमा उठेको थियो – विवाह गरेर लैजाँदा वेहुलीहरू यसरी रुन्छन् भने के भागेर विवाह गर्दा चाहीँ उनीहरू रूँदैनन्हैट, यो सिल्ली प्रश्न हो। हाहाहाहा। त्यो मलाई थाहा छैन। भगाउनेहरू र भाग्नेहरूसित सोध्नुपर्छ।
विवाह गरेर घर ल्याएपछि उनको र मेरो प्रगाढता अलिअलि गर्दै बढ्दैगयो, झ्याँगिदैगयो। एकार्कालाई अझ नजीकबाट बुझ्न र जान्नथाल्यौं, हामी रहेछौं एकैजसो। म मद्पान, धूम्रपान, निशाभाङ, पान-सुपारी, खैनी-सुर्ती केही सेवन नगर्ने साधुजस्तो स्वभावको, उनी पनि थिइन् त्यस्तै। सरल र सादा। सँगैमा छिमेकी महिलाहरू महीनामा दुई-तीनचोटि सिनेमा हल जाँदा हामीलाई त्यसमा लुतो न कनाइ थियो। एकचोटि, याद छ, उनी र म, नानी सानो थियो काखको, नानीलाई लिएर गान्तोकको देञ्जोङ सिनेमा हलमा नेपाली चलचित्र लागेको छ भनेर छिरेका थियौं, आधा मात्र हेरेर निस्कियौं, नानीलाई सिनेमा घरभित्रर विसञ्चो भएजस्तो भयो अनि निस्कियौं। सिनेमा घरमा पसेको पनि त्यतिनै हो। हामी घरमै टीभीमा चलचित्रहरू हेर्नेगर्थ्यौं, सामान्य रूपमा। महिलाहरू धारावाहिकप्रति निक्कै चासो राख्ने हुन्छन्, तर मेरी श्रीमतीमा त्यो गुण थिएन। भए पनि ठीकै छ नभए पनि ठीकै। कहिले कँही हेरी पनि हाल्थिन्, नत्र छैन।
अँ, घुम्न भने हामी जानेगर्थ्यौं, हामी दुई धेरै डुल्थ्यौं। साथमा बहिनीहरू, कहिले भाई, कहिले आमा-बाबाहरू हुनुहुन्थ्यो। हामी भ्रमणमा बेजोड़ थियौं। वर्षमा कम्तीमा एकचोटि, मौका परे दुई वा तीनचोटिसम्मको भ्रमणको योजना बनिन्थ्यो हाम्रो। भ्रमणको गन्तव्य देशभित्रकै स्थानहरू हुनेगर्छ हाम्रो। टाढा जाने हुँदा नेपालसम्म। हाम्रो देशमा राम्रा राम्रा भ्रमण गन्तव्यहरू छन्, हामी साधारण रूपमा त्यसैमा रमाउनसक्छौं, भ्रमण गर्नसक्छौं। हुन त विदेश जाँदाको अनुभव निक्कै नौलो हुन्छ, तर स्वदेशको रमाइलोपनलाई चटक्क कट्टी गर्नसकिन्न। हामीले सिक्किमको छाङ्गु, नथुला, त्यसपर्तिरको बाबाधाम, कुपुप, उत्तर सिक्किम, दक्षिण सिक्किमको नाम्ची र केही वर्षअघि निर्मित चारधाम, राभङ्ला, लेगसेपको त्यो तातो पानी, जोरथाङ, दार्जीलिङ, कालेबुङ, असम, कोलकाता र नेपालका पूर्वीय स्थानहरू रमाइलोसित घुमघाम गऱ्यौं। असम अनि त्यहाँको कामख्या मन्दिर जाँदा भने उनी छिमेकीको टोलीसित गएकी थिइन्, म त्यसमा सामेल हुनसकिन, त्यस्तै गरी काठमाडौं  र त्यहाँको भोलेनाथको पशुपतिनाथ जाँदा म एक्लै परेको थिएँ, कारणवश उनी छुटिन्। तर हामी अन्य सबै ठाउँहरूमा सँगसँगै थियौं। छक्का पञ्जा जान्दिनथिन् उनी र त्यस्तो मनपर्दैनथ्यो उनलाई, त्यस्तो मान्छ पनि मनपराउँदिनन् उनी, म पनि सोझो र सीधा मान्छे अनि सोझो र सीधा मात्र देख्ने अनि जान्ने। उनी  अवाक बनेकी थिइन्। आजको जमानामा एउटा सिग्रेट पनि नतान्ने मान्छे पाउनु भनेको देवता पाउनु हो भन्थिन् उनी। धेरै दिनसम्म त उनलाई विश्वास थिएन रे, दुइ-चार दिनको देखावटी होला, मेरो सामु बिरालु बन्न खोजेको होला, मलाई इम्प्रेस गर्न चाहेको होला भन्ठानिन् रे। तर लगभग एक-दुई हप्ता बितेपछि उनमा पक्का विश्वास जाग्यो रे, हो रहेछ – यो मान्छे पक्का रहेछ, मुखले मात्र बोल्ने होइन रहेछ तर साँचो कुरा बोल्ने रहेछ भन्ने भयो रे। अनि उनलाई पनि यस्तै मान्छे मनपर्थ्यो रे, जस्तो मनपर्थ्यो त्यस्तै पाएँ भनेर कृतज्ञ बन्दथिन् उनी। धर्म-तीर्थमा मन दिने उनी, मलाई पनि त्यस्तो त मनपर्छ. गान्तोकको बसाईको समयमा तादोङमा निक्कै समयसम्म उनले बालविकास पनि सञ्चालन गरिन्। मेरो सानो छोराले पनि त्यहीँ साईराम भनेर ठूलाहरूलाई अभिवादन गर्न सिक्यो। धर्म-तीर्थ गरे पनि आडम्बरबाट टाढ़ा रहन मनपराउने टीका, उनको स्वभावले गर्दा मलाई धेरै त्यस्तो कुनै पनि कुराहरूमा सम्झौता गरिरहन परेन दाम्पत्य जीवनको निम्ति। नत्र दुइ लोग्ने स्वास्नीले नै धेरैवटा कुराहरूमा कम्प्रोमाइज गर्नुपर्ने र जीवन चलाउनुपर्ने वाध्यताहरू आइपरेका हुन्छन्। हामीमा त्यस्तो केही थिएन, आइपरेन। सायदै यो एकार्कालाई बुझ्नसक्ने क्षमताको अधिक्यताले गर्दा पनि हुँदो हो। कतै कतै भनिन्छ पनि कि जोड़ी यहाँ होइन, स्वर्गमै बनिन्छ।
अघिनै भनें, 14 दिसम्बरको दिन, सन् 2004-मा हाम्रो विवाह भयो। अनि अर्को वर्षको 14 दिसम्बरको दिन छोराको जन्म भयो, गान्तोकको एसटीएनएम अस्पतालमा। घरमा यसरी पुत्रको आगमन भएपछि झन् खुशीको परिवेश विस्तृत बनेर गयो। घरमा, आफन्तहरूमा पनि खुशीका लहरहरू छाए, आमा –बाबा त झनै खुशी देखिए। नातीले पाइला राख्यो घरमा त यसले कति खुशी दियो होला उहाँहरूलाई, उनुभूत गर्नसकिन्छ। छोराको नाम ब बाट विजेश वा व्रिजेश गरियो। व्रि शब्द बुढ़ा-पाकाको जिब्रोमा फट्कारिनु मुस्किल हुनेभयो र सरलीकरण गरि विजेश बनाइयो। अहिले पनि विजेश भनेर बोलाउँछौ हामी सबै। सबैको प्यारो विजेश।
नानी बढ्दैगयो, पढ्दैगयो। नानीलाई वातावरणीय असुविधाको हुनाको कारण हामी गान्तोकबाट सिलगढ़ीको मतिगढ़ा झऱ्यौं। यहाँ पनि गान्तोकमै जस्तो किरायको एउटा घरमा बस्नथाल्यौं। विजेशको यहीँ नजीकको स्कूलमा भर्ना गरियो। वेस्ट पोइण्ट स्कूलमा उसको पढ़ाइ शुरू भयो। शुरूमा त डर थियो, गान्तोकमा कक्षामा 10-15 जना स्टुडेण्टमा पढ़ेको र यहाँ एउटा कक्षाको दुई-तीनवटासम्म सेक्सन छ र सबैममा 40-45 जना विद्यार्थी छन्- प्रतिद्वन्दिता प्रचुर हुन्छ। तरै पनि नानीले राम्रै अङ्कमा पास गऱ्यो। कक्षा दुइ पढ़ेर तीन नपढ़ी चारमा पुग्यो। पढ़ाइ राम्रै छ केटाको। त्यसपछि पनि राम्रै परिणाममा उत्तीर्ण हुँदैजाँदैछ र यसै गरी कक्षा सातमा पुगेको छ। कक्षामा छैटौं दर्जाभन्दा तल पुगेको छैन अनि अङ्क भने जहिल्यै प्रथम दर्जाकै छ। यतिमा म सन्तुष्ट हुनैपर्छ।
सिलगढ़ीमा झरेपछि कामधन्दा र कतिपय कुराको परिवर्तनको कारण निक्कै असुविधा त भयो तर पनि लोग्ने स्वास्नी एक भएर त्यस्ता अड्चनहरूलाई पन्साउँदैगयौं। मूल कुरा थियो नानीको राम्रो शिक्षा, यसमा हामीले ध्यान दिँदैगयौं। सानो परिवार सुखी परिवारकै परिभाषाभित्र पर्नेगरेर नै हाम्रो साधारण जीवन चलिरहेकोथियो।
म जति जति भर्खरै भएको घटनाको यहाँ उल्लेख गर्न खोज्दैछु, उति उति जोरले मेरा हातहरू काम्नखोज्दैछन्। हृदयबाट कम्पन निस्किएर हातहरूमार्फत दौड़िन्छ। तर पनि म लेख्छु नै, म उल्लेख गर्छु नै। यो कुरालाई मैले उल्लेख गर्नेपर्छ। यो कुरा मेरा तथा उनका आफन्तहरू र मित्रहरू सबैले जान्नुपर्छ, बुझ्नुपर्छ, चाहेको खण्डमा उहाँहरूलाई थाहा हुनुपर्छ भन्ने मलाई लागेको छ। अनि अलिक छोट्करीमा भए पनि यो कुरालाई म यहाँ लेखेर पोस्ट गर्न चाहिरहेको छु, अनि अहिले छोटकरीमा लेखे पनि सायदै भविष्यमा म यसमा केही थैथाप गर्दै लैजानसक्छु। तर जसरी होस्, यसलाई म लेख्छुनै अनि पोस्ट गर्छु।
जोरथाङदेखि केही पर्तिर लेगसेपको बाटोमा पर्ने तातोपानी जाँदाको एउटा घटना झट्ट याद आउँछ। हाम्रो छोरो विजेश केही क्षणको निम्ति हराएको.... । हामी तातो पानीमा नुहाउनमा तल्लीन थियौ, अनाचन छोरा भएतिर हेऱ्यौं, उ पनि त्यहाँ उफ्रीउफ्री पानी खेल्दैथियो, छैन त। हाम्रो त सातो—पुत्लो उड्यो। एकतिर रङ्गीत नदी बहिरहेको छ, ठूल्ठूला चट्टानहरूमाथि उक्लिँदै, ओर्लंदै, मेरै नानीजस्तो, अर्कोतिर छ गुम्बा अनि पहाड़को भित्ता। हामी परिवारै थियौं त्यहाँ पनि। चारैतिर खोज्नथाल्यौं। अनि फेरि भेट्टायौं झोलुङ्गे पुलमा। मुटुले ठाउँ छोडेको थियो, धन्न हे ईश्वर!!!
त्यस्तैगरी गान्तोक बजारमै दुइचोटि हराएको हो। दुवैचोटि भेट्यौं, चारैतिर खोजी गरेर, आफन्त र मित्रहरू लागेर भेट्टायौं। सानो खेलौना गाड़ी गुड़ाउँदै उ भीडमा कहाँ पुग्यो कहाँ पुग्यो खोज्नलाई जास्ती भयो हाम्रो। तीन घण्टापछि भेट्यौं। त्यसपछि भने त्यस्तो भएन। नानीहरूलाई धेरै याद गर्नुपर्छ। कोही नानीहरू साह्रै चञ्चले हुन्छन्। मैले पनि यो कुरा अब बुझ्दैछु। हाम्रा अब आउने भाइहरूले यो कुरा बुझिराख्नुपर्छ। नानीहरूलाई कुटपीट गरेर होइन, सम्झाइ-बुझाइ सही मार्ग देखाउने कोशिश गर्नुपर्छ। डर देखाउनु अलग्गै कुरा हो, नानीहरूमा ठूलाप्रति अलिकति डर हुनुपर्छ, ठूलाहरूको कुरा मान्नुपर्छ, ठूलाको कुरामा ध्यान दिनुपर्छ, शिष्टाचार सिक्नुपर्छ नानीहरूले। यसबाहेक उनीहरूलाई धम्क्याउने र डराउने गर्नु ठीक होइन।
नानीको पढाइ त राम्रै छ, तर पनि उसको आमा तथा मेरी श्रीमती टीका चाहन्थिन् कि छोराको पढ़ाइमा उन्नति होस्। श्रेणीमा छैटौं आउने केटा अर्कोवर्ष चौथो वा पाँचौंसम्म आओस, फेरि अझ अर्को वर्ष दोस्रो वा तेस्रो आओस्। उन्नति भनेको अगाड़ि आउनु हो, जहाँ को त्यही बसिरहनु होइन भन्थिन् उनी। सकेसम्म त नानीले पढ़ाइमा उन्नति गरेकै छ। उमाथि अझ जोर लगाउन र बोझ हाल्न पनि सकिन्न नि त। सबै कुरा बुझ्नुपर्छ, विचार्नुपर्छ।
स्कूलमा परीक्षा चल्दैथियो, छोराको सातौंको अर्धवार्षिक परीक्षा। अब चारवटा परीक्षा दिन बाँकी छ, तब घट्यो दुर्घट्ना..... ठूलो दुर्घट्ना, भयानक दुर्घट्ना।
17 तारीक, विश्वकर्म पूजाको दिन हामीमाझ सल्लाह भयो, 27 तारीक घर जाऔ, टीका लगाएर 1 तारिक नेपाल जाऔं, नेपालमा दुइ दिन बसेर फर्कौं। 19 तारिक सेप्टेम्बर 2017, बिहान उनैले नानीलाई खाना खुवाएर स्कूल पठाइन्,  ड्युटीको निम्ति तयारी भइन्, म घरेलु ट्युशन पढाएर घर आइपुगेँ अनि उनलाई लिएर उनको ड्युटी पुऱ्याउन साइकलमा लिएर हिँड़े। छेवैको उत्तरायण सिटीसेण्टर पार गरेर डी ब्लकमा एउटा रेस्ट हाउसमा उनले काम गर्नथालेको 22 दिन जति भएको थियो। त्यहाँ पुऱ्याएँ, त्यो रेस्टहाउसभित्र छिर्नअघि उनले मलाई सदाझैं पछाड़ि फर्केर पुलुक्क हेरिर र साङ्केतिक अभिवादन गरिन्, जानु भनेर। अनि म फर्किएँ त्यहाँबाट। त्यसपछि कोठा (किरायको घर)मा आइपुगें अनि ल्यापटपमा सामान्य काम पेज सेटिङ र पेज ले-आउट गर्नथालें।
काममा तल्लीन रहें, अनि अपराह्नको 2-15 बजी मैले फेरि उनलाई कल गरें, म तिमीलाई लिन आउँदैछु है भनेर। उनले आउनु पर्दैन, म आइहाल्छु नि भनिन्। उनी आफ्नो काम सकेर छेवैमा अर्को गेस्ट हाउसमा काम गर्ने आफ्नो दिदीकहाँ पुगेकी थिइन्, मैले कल गर्दा। दिदीकी माइली छोरीले हाँस्दै भनिन्, अँकल, आण्टीलाई त कसैले लाँदैन त। यो त मलाई जिस्क्याउने तरीकामा भनिएको थियो, उनले सधैं यसरी नै जिस्काउँथिन्, हामी जोडी मिलेको देखेर पनि जिस्काएकी होलिन्। टीकाले – “लिन आउनु पर्दैन भनेपछि मैले हुन्छ त भनें।
केही मिनटपछि साइँलो भाइले कल गऱ्यो, सोध्यो भाउज्यु घरमा आइपुगिन्?” भनेर। मैले आइपुग्ने बेला त भयो तर आइपुगेकी छैन भनेर उत्तर दिएँ। फेरि टीकाको नम्बरमा कल गरें, कुनै अज्ञात व्यक्तिले फोन उठायो, यो नम्बर जसको हो, उ एक्सिडेण्ट भएको छ र न्युटिया हस्पिटलमा लगिँदैछ, चाँड़ै आउनु होला भन्यो। म मनमा ढुङ्गा बोकेर, नानी (छोरा) लाई तिमी बस्दै गर आमालाई एक्सिडेण्ट भयो रे, म जान्छु भनेर निस्किएँ। छेवैमा सुमन सालोलाई स्कुटीमा न्योटियासम्म जौं भनेर गुहार लगाएँ। त्यसपछि यताउति सबैतिर फोन गर्दै निस्कें म। सायद रगत बह्यो होला, रगत चाहिन्छ, रक्तदानको आवश्यकता पर्नसक्छ। मनभरि कुराहरू खेल्दैथियो। हस्पिटल पुग्यौं। सोझै एमर्जेन्सी वार्डमा गएँ, टीका त्यहीं हुनुपर्छ। पस्नेसाथै मैले लगाएको लुगाबाटै चिनें उनलाई। अस्तव्यस्तकृत्रिम श्वासप्रश्वास, टाउकोमा निधारनेर गहीरो चोट, टाउकोमा पछाड़िपट्टि प्वाल जहाँबाट रगत लगातार बहिरहेको छ, रगतले परिवेशनै रक्ताम्य छ। छामें हात, खुट्टा, सुम्सुम्याएँ बाहुहरू, नाड़ी छामे, घरिघरिको मुटुको भुलुक-भुलुक कुहिना नाघेको छ, हात र खुट्टा चिसा भइसकेका छन्, कताकता पाँसुलाहरूमा तातोपन छ। हेरें राम्ररी – चोट शरीरमा अन्य कतै छैन। हत्केलामा अलिकति धसारिएको छ, घुँड़ामा अलिकति धसारिएको छ, पेटमा रगत जमेजस्तो नीलो डाम छ, अरु सबै ठीक छ, केवल टाउकोमा भयङ्कर चोटहरू छ। बिस्तारै मेरा हात-पाउहरू गलेजस्ता भए। यस्तो भयो, नराम्रो घट्ना सुन्दा जुन मुटुबाट चिसो तरङ्ग बहेर शरीरमा छरिन्छ, त्यो तरङ्ग मेरो शरीरभरि छरियो। त्यो कस्तो तरङ्ग हुन्छसायद थोरैलाई थाहा हुन्छ। त्यस तरङ्गले निःसहाय बनाउँछ मानिसलाई। त्यो कालको सम्मुखिन हुँदा महसुस गरिने तरङ्ग हो- सायद; त्यो तरङ्ग दौड़ियो शरीरभरि। मलाई खुट्टामा खड़ा हुनलाई गाह्रो परिरहेको थियो, त्यहाँको शैय्याको एक छेउ समातेर उँभिने कोशिश गरें मैले। त्यसपछि अरु कसैले मलाई बाहिरतिर लगेर गएँ। बाहिर, मलाई थाहा छैन तर मुटुको आकार मेरो छात्तिभरिएर मुखमुखसम्म आएको थियो। आँखामा आँसुको भल थियो। केही विकल्प थिएन अगाड़ि, केही उज्यालो थिएन अगाड़ि। जसलाई म यति धेरै, यति औधि माया गर्थें, उसको यो हालत अनि? डाक्टरले नो चान्स भन्यो।
आफूलाई सम्हाल्ने धेरै कोशिश गरें, मनलाई सम्हाल्ने धेरै कोशिश गरें, मुटुलाई सम्हाल्ने धेरै कोशिश गरें। एमर्जेन्सी वार्डबाहिरको बेञ्चमा बसिरहें, उँभिनुमा केही कष्ट हुँदैथियो जस्तो लाग्दैथियो। घरिघरि बाथरूम पस्दैथिएँ, मलाई थाहा थियो मुटुको चलन फेरिएको थियो। केही समयपछि त्यहाँ कसैले मलाई डाक्टरकहाँ बीपी नपाउनलाई लिएर गए – साँच्चै बीपी धेरै बड़ेको थियो। पानी पिउनथालें। पानी पिइरहें। एमर्जेन्सी वार्डभित्र 10 मिनटपछि डाक्टरले सबै इक्विपमेण्ट खोलियो भनेर समाचार दियो। त्यतिखेर म बाहिरकै वेञ्चमा थिएँ। चारैतिर फोनहरू बजेको आवाजहरू गुञ्जियो। सन्नाटा अघिबाटै छाएको थियो, त्यो अब व्यप्त भयो। रातको आगमन हुनथालेको थियो बाहिरतिर, तर मभित्र त अघिनै घनघोर अन्धकार छाइसकेको थियो। हिजोअस्तिको त्यो उज्यालो थिएन अब ममा बाँकी रहेको। म उँभिएँ, विस्तारै हिँडें, यताउति हेरेँ पनि; तर यस्तो लाग्थ्यो मानौं म मशीनजस्तो चलायमान थिएँ – मशीनले सही सही काम गर्छ तर त्यो प्राणहीन छ। कसैले यता हस्ताक्षर गर्नु भन्थे, कसैले यता हस्ताक्षर गर्नु भन्थे। टीकाको शवलाई छेवैको एउटा कक्षमा केहीबेर राखिएपछि अर्को एउटा चिसो कक्षभित्र हालियोएक रातको निम्ति। टीका भन्दाभन्दै शव जोडिइसकेको थियो टीकाको नाम पछाडि।
म, आफन्तहरू र मित्रहरू मेरो किरायको घरमा पुग्यौं, अँध्यारो थियो, समय स्मरण छैन। रोंगो 45 ब्लक (घर) बाट भाइ र छिमेकी मित्रहरू पनि आइपुगेका थिए। छोरोलाई कसैले नजीकको आफन्तको घरमा लगेर राखिदिएका थिए, आइपुग्यो। छोरोलाई अँगालो हालेर म रोइरहेँउसलाई भने मैले- तिमीले तिम्रो आमा गुमायौ, मैले मेरो अर्धाङ्गिनी गुमाएँजीवनसाथी गुमाएँ। अनि फेरि आफैलाई नियन्त्रित गर्दागर्दै झर्ने आँसुहरूलाई रोक्न पनि सकिन, आँसु त चुहाउन हुँदैन यस्तोमा भन्ने सुनेको हुँ, देह त्याग गरेर गइसकेको आत्मालाई त्यसले पिरोल्छ रे। म त उनलाई औधि माया गर्ने मान्छे हुँ – त्यसैले उनको आत्मालाई पनि पिरोल्छ भने म किन रुन्छु र, म नै त हुँ एक उनलाई बुझ्ने र माया गर्ने मान्छे। तर खै त, सम्झन खोज्छु आँफै तर कहाँ हुन्छ र! आँसु झरिरहन्छ, रोक्दारोक्दै झर्छ आँसु।
मेरो के दोष थियो होला र नै मैले यो साजय पाएको हुँ। यसलाई मैले मेरै सजाय सम्झिएँ। मर्ने त मरेर गइहालिन्उनको अबोध्य यात्रा शुरू भयो त उनलाई के को सजाय भयो र- सजाय त यहाँ तड़्पि-तड्पि बाँच्नेलाई हो नि। यो त ईश्वरको ममाथि बजारिएको बज्र हो। किन होलामैले के त्यस्तो कर्म गरेँ हुँला जसको परिणाम मैले यसरी भोग्नुपऱ्योके कार्मको मैले यो नतीजा भोग्नुपरेको होला। सोच्नखोज्छु। हामी त यस्तै छौं, भाग्य वा कर्मको विचार गर्ने, संस्कारले नै त्यही नै सिकाएको छ भने यो कुरालाई म कहाँ अदेखा गर्नसक्थें र। रातभरि सोचमा म डुबेँ, जब निद आँखामा आउनलागेको थियो, भाले बासेको सुने। म गम्भीर रूपमा यो कुरामाथि सोचिरहेको थिएँ। मैले मेरो जीवनको सबैभन्दा प्रियजन गुमाउनुको के कारण हुनसक्छतर यसको कुनै उत्तर थिएन मसित, न त थियो अरु कसैसित नै। यो कर्मले नै त्यस्तै गऱ्यो।“  --- ठीक्क त्यहाँ पुग्नु, उताबाट ठीक्क रेल आउनु, त्यतिबेलै उनलाई रिँगटा लाग्नुकिन उनी ड्युटीबाट सरासर घर आइनन् तछुट्टी त 2 बजीतिरै भएको हो नि तर त्यो दिन सिटी सेण्टरअघि आएर उनले किन चटपटे किनेर खानु पऱ्यो जब कि अरु दिन उनलाई चट्पटे खाने कुनै रहर जाग्दैनथियो। अनि पछिबाट हीरा दिदीले भन्नुभएअनुसार – सिटीसेण्टरको अगाड़ि अटो चढ्ने स्ट्याण्डसम्म दिदीकी एउटी छोरी, दिदी र टीका सँगै आएका थिए। दिदीहरूले टीकालाई त्यहाँ छोड़े, भनिन्- हिँड़ेर घर नजा, आज धेरै गर्मी छ, अटोमा जानु। टीकाले पनि भनिन्- आज बजारबाट सब्जी लगेर जानु छ, त्यसैले अटोमै जान्छु दिदी। यति भनेपछि दिदी र उहाँको छोरी गाड़ीमा चढ़े। टीकाले हेरिरहिन्। दिदीले भनिन् पनि- ओई, के हेरेकी यसरी एकोहोरिएरटीकाले जिस्किँदै भनिन् – हेरेको नि। भोलि हेर्न पाइन्छ कि पाइन्दैन। अनि खिस्स हाँसिन्, जिस्केकै भावमा, सँदाझैं। दिदीले गाली गरिन्, ओई यस्तो भन्छेस्हामी त दिनैपिच्छे भेट हुन्छौं। भोलि फेरि भेट भएर गफ्फिनुपर्छ, मज्जाले। घर जा सरासर।
पछि दिदीले त्यो कुरा गर्नुहुँदा मलाई झस्स मनमा लाग्यो- कि उनको आत्माले विदालिनुपर्ने क्षण आइपुगेको कुरा ज्ञात गरिसकेको हुनाले नै उनको मुखबाट त्यतिखेर फ्याट्ट त्यो शब्द निस्केको थियो कि! अनि म पनि यो कुरा स्वीकार गर्छु कि टीकाले यस्तोउस्तो कुरा गर्दिनथिइन्, तर कुनैकुनै बेला फ्याट्ट बोलेको कुरा पुग्दथ्यो। उनी बत्तीस दन्तकी थिइन्, त्यही भएर पो हो किअन्धविश्वास होइन भने के भनौं- हो भने के भनौं। एकचोटि गान्तोकबाट सिलगढ़ी झर्दैगर्दा उनले जान-अञ्जानमा जुन कुरा भनेकी थिइन्, त्यस कुराले मलाई अझसम्म पोरिरहेको छउनले जे भनेकी थिइन्, त्यस्तै भयो। निर्माणको निम्ति परिवर्तनको नाममा हामीले ध्वस्त गर्ने कदम चालेका थियौँ। तर केही दिनअघि फेरि उनी पुनः निर्माणको निम्ति परिवर्तनको अपेक्षा सम्बन्धी कुरा गर्दैथिइन्।
मैले ईश्वरसित पनि सोधेँ, विपनीमा नभए, सपनी मै भए पनि सही, मलाई भनिदिनुस्, के टीकाले यत्तिनै उमेर लिएर आएकी थिइऩ् कुन कर्मले यस्तो फल दिन्छ ईश्वर किन कि म कर्म सुधार गर्नचाहन्छु अनि उनलाई पनि लामो जीवन प्राप्त गराउन चाहन्छु आउँदा जन्महरूमा, अनि हामी सँगै पूर्ण जीवन जिऔंला। हामी यही त विश्वास गर्छौं कि हाम्रो आत्मा कदापि मर्दैन र निरन्तर जन्म-मरणको चक्रमा घुमिरहन्छ। यो जन्म-मरणको चक्रबाट छुट्नलाई साधारण बुझाइ र दृष्टिकोणले हुँदैन। म पनि छुट्नुपर्छ यो धरतीबाट र फेरि आउनलाई छुट्नुपर्छ। यहाँ आउनुपर्छ फेरि यहाँबाट जानलाई। यसैक्रमा हामी चल्नुपर्छ। त्यही म बुझ्न् खोज्दैछु। टीकाले किन यति चाँड़ो हिँड्नुपऱ्यो, आधा उमेर पनि त वितेको थिएन नि।
दुई दिनअघि, उनी ड्युटीबाट आइन्, त्यो दिन पनि मैले उनलाई साइकलमै लिएर आएको थिएँ आधा बाटोदेखि। आधा बाटोसम्म उनी हिँड्दै आइपुगेकी थिइऩ्। घरमा आएपछि म बेडमा बसें, अर्क छेउमा उनी बसिन् र मेरो काखमा शीर राखेर ढल्किन् अनि भनिन् – यहाँ त मेरो स्वर्ग छ। हजुरसित मलाई कति आनन्द आउँछ आउँछ, म बयान गर्नैसक्दिन।“ मैले उनको शीरमा हातले सुम्सुम्याएँ। यतिपछि उनको सारा थकाइ मेटिहाल्यो। हामी दुवै आ-आफ्नो कार्यमा पुनः व्यस्त भयौं। मलाई पनि यो कुरामाथि गर्व लाग्दथ्यो कि हाम्रो विवाह भएको 13 वर्ष वित्नलाग्दा पनि हामीमाझ आजसम्म दुई शब्दको अनबन छैन, न त छ रिस-राग। मलाई टीकाले कुनै दिन ठूलो श्वर गरेर मसित बोलेको याद छैन। उनले दुईचार दिनअघि मलाई नै भनेकी थिइन् – यति लामो समय हामीले सँगै बितायौं, तर मैले हजुर मसित रिसाएको देखेकै छैन। के हजुरलाई रिस उठ्दैन?” उनले के नै त्यस्तो बिगार गरेको होस् र रिस उठोस्, के नै त्यस्तो गल्ती गरेको होस् र रिस उठोस्, के नै नराम्रो गरेको होस् र रिस उठोस्। उनले भन्थिन्- बरु बेलाबेला म रिसाइहाल्छु नि, मुखाले पनि छु। म भन्थें- मनमा जे छ त्यो पोखाऊ, रिस उठेको भए पनि मसित पोखाऊ। अरुसित पोखाउँदा नराम्रो हुनसक्छ, मसितै पोखाऊ। दु:ख भए पनि मसितै पोखाऊ, रिस भए पनि, मनमा ठेस लागेको भए पनि, ग्लानिहरू भए पनि। सुखहरू र खुशीहरू अरुसित पोख्दा पनि केही फरक पर्दैन, तर दु:ख र वेदना अनि रिस र उत्वेगहरू मसितै पोखाऊ। त्यसो गर्दा तिमी शान्त पनि हुन्छौ अनि म तिमीलाई राम्ररी बुझ्छु पनि। म तिम्रो घाउमा मलम लगाउनसक्छु पनि।’’
उनी अनि मेरो छात्तिमा मुड्कीले हिर्काएजस्तो गरी थप्थपाउँथिन् र त्यही छात्तिमा मुख लुकाएर भन्थिन्, हजुर त कस्तो खाले मान्छे हौ। यो संसारमा हजुरजस्तो मान्छे पनि हुँदारहेछन्, जोसित मजस्ती एउटी नारीले स्वर्ग अनुभूत गर्नसक्छे।“ अनि जब म उनको शीरमा हातले सुम्सुम्याउँछु, उनी स्फूर्त बन्छिन्। मैले भने- “ तिम्रा सम्पूर्ण कुरा मैं त हुँ अनि मेरो पूर्ण संसार तिमी। तिमीले अरु कोसित रिस पोख्नसक्छौ लु भन तमसित त सक्छौ नि। नधकाई पोख, म प्रतिक्रिया जनाउँदिन। मैले मेरो मनभरिको गह्रौं भारि, मनको वह कोसित साझा गर्छु भन ततिमीसित। किन कि तिमी मेरी अर्धाङ्गिनी हौ, आधा अङ्ग, बेटर हाफ अनि म तिम्रो पति हुँ।  त्यो बेलामा उनले भनेकी थिइन्, हजुर मेरो पति होइन, पतिदेव हुनुहुन्छ।“ उनको यो उत्तरले म भित्रबाटै प्रफुल्लित बनेको थिएँ। उनले कुरा कोट्याउँदै भनेकी थिइन्, मैले अस्तिको दिन पनि एउटा गिलास फुटाएँ, हिजो पनि एउटा कप फुट्यो। मेरो हातबाट माझ्दामाझ्दै चिप्लिएर झरिहाल्छ, प्रायः यस्तो भइरहन्छ। तर त्यस्तै घरमा म परेकी थिएँ भने मैले कति गालि सुन्नुपर्थ्यो, त्यस्तै खाल्की सासु भए झन् के हुन्थ्यो फसाद, सायद थप्पड् खानुपर्थ्योतर हजुरको अनुहारमा रिसको एउटा लेस मात्र पनि म देख्तिन। हजुरलाई रिस किन नउठेको?” मैले उत्तर दिएँ, अञ्जानमा यस्ता गल्तीहरू हुन्छन्, हिँड्दा खुट्टा ठोक्किनसक्छ निखुट्टा किन ठोक्काइस् भनेर रिसाउन त मिल्दैन।“ 
हे ईश्वर, धन्यमैले यस्तो घर पाएँकति राम्रा र बुझ्ने साथीजस्ता सासु-ससुरा, देवताजस्तो पति, ईमान्दारी छोरा। सहयोगी देवरहरू। आहा, धन्य ईश्वर!’’  टीकाले यो कुरा मलाई भनेकी थिइन् र एकदिन आमालाई पनि भनेकी थिइन् रे, पहिलेभन्दा अहिले त म स्वर्गमा छु।“ उनले यहाँ पहिलेभन्दा भन्ने शब्दलाई पनि जोड़ेकी थिइन्। उनले माइतभन्दा अझ राम्रो यहाँ भन्न चाहेकी थिइन् कि मलाई जुन कुरा भनेकी थिइन्, त्यही कुरा भन्न खोजेकी थिइन्, त्यो म बुझ्छु। म उनको चेहरामा थकान, उदासी, दु:खीपन देख्नै चाहन्नथेँ। उनी थकित हुँदा उनलाई म तेल तताएर हात-गोड़ा मालिस गरिदिन्थेँ, उनी भन्थिन्, मलाई पाप लाग्छ, मैले हजुरको गोड़ा मल्नुपर्ने हो, हजुरले होइन।“ म भन्थें, त्यसो होइन, कुनै पनि नियम एकपाखे हुँदैन। म थकित हुँदा तिमीले मेरो गोड़ामा तेल लगाउन हुन्छ भने मैले पनि तिमी थकित हुँदा तिम्रो गोड़ामा तेल लगाउन हुन्छ नि त। तिम्रो थकान बुझ्ने मान्छे म मात्र त हुँ।“ अनि उनी मलाई हेरिरहन्थिन्, म उनको हात-पाउहरूमा तेल लगाएर मालिस गरिदिन्थें। जीवनमा आफन्ता सबै छोड़ेर यति टाड़ा आइन्, मेरोनिम्ति, मेरो सहारामा, यति त्याग गर्नसक्ने सहयात्रीको खातिर मैले यति गर्दा उनलाई मनमा जति शान्ति र आनन्द मिल्छ, त्यो स्वर्गमा पनि मिल्दैन। त्यसैले त उनले भनेकी होलिन्, यहाँ त मेरो स्वर्ग छ। मलाई पनि त कामबाट थकित भएर घर पुग्दा उनले चिसै भए पनि एक गिलास पानी पिउन दिँदा अनि रोटी सब्जी खानलाई पस्किदिँदा कति आनन्द आउँथ्यो। यस्तै हो सहयात्रा, यस्तै हो जीवन। उनी फुर्सद भएको बेला उनले आफ्नो, छोराको र मेरा सबै लुगाफाटाहरू धोइदिन्थिन्, इस्त्री लगाइदिन्थिन्, जुत्ताहरू पोलिस गरेर राखिदिन्थिन् अनि मेरो फुर्सदमा म त्यसै गर्थें। केही दिनअघि बिहान ड्युटी निस्किने बेलामा मैले उनलाई जिस्क्याउँदै भनेको थिएँ, ए, तिमीले यो चप्पल कहाँ भेट्टायौ?” उनले भनिन्, भेट्टाएँ नि, मेरो पतिदेव जो हुनुहुन्छ।“ अर्थात्, उनको त्यो चप्पल मैलिएको थियो, मैले धोएर सुकाउन राखिदिएको थिएँ। उनले चप्पल सू-ऱ्याकमा देखिनन् होला अनि बुझिहालिन्, चप्पल कहाँ छ भनेर। त्यसैले त भनिन्, मेरो पतिदेव जो हुनुहुन्छ। एकार्कालाई बुझ्नु र एकार्काको भावनाहरूको कदर गर्दै जीवन धान्नु हो भने साँच्चै यो जीवनमा शान्ति भेटिनेरहेछ।
यस्तै कुराहरू मनमा रातभरि झल्झली आइरहे। बिहान अलिअलि चिया विस्किट लिएर सिलगढ़ी सिटी-सेण्टरनेरको न्योटिया अस्पताल पुग्यौं, पुलिसको प्रतीक्षा गऱ्यौं। पुलिस आइपुग्यो। अनि कागजपत्रहरूमा हस्ताक्षर गर्ने र शव हस्तान्तरण गर्ने औपचारिकता चल्यो। त्यसपछि पोस्ट मार्टमको निम्ति नर्थ बेङ्गल अस्पतालको सो विभागमा पुऱ्यायौं। दुर्घटनाको खबर खरबारीको आगोजस्तो फैलिएको थियो। उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालको सो विभागमा आफन्त र मित्रजनहरू चारैतिरबाट, टाड़ा नजीकबाट भेला भएका थिए। सबैले मलाई सम्झाउन खोजिरहेका थिए, थम्थम्याउन खोजिरहेका थिए। तर म बारम्बार कतै हराइरहेको थिएँ, गहीराइमा, सायद अर्को दुनियाँमा। लामो प्रतीक्षा गर्नुपऱ्यो भन्छन् अरु, तर मलाई कति लामो र कति छोटो केही थाहा भएन। बेलुकी चार बजीको समयमा शव एउटा एम्बुलेन्समा राखियो, त्यहाँ केही आफन्तहरू चड़े, हामी राजेश भाइको गाड़ीमा चढ्यौं र शव लिएर लाग्यौं रोंगोतिर। रोंगोबाट भाइहरूले लिएर आएको गाड़ी अगावै त्यहाँबाट निस्किएको थियो, बाटोमा पर्ने ओद्लाबारीमा केही सौदाहरू किनेर लिएर लैजानको निम्ति। दार्जीलिङ क्षेत्रमा लगातार बन्द चलिरहेको थियो, गोर्खाल्याण्डको मागमा। लगभग 80 दिन पुगिसकेको थियो बन्द पालनको।
उत्तर बङ्गाल मेडिकल कलेजको त्यो पोस्ट मार्टम विभागमा अन्यतिरबाट पनि शवहरू ल्याइएका थिए, तीमध्ये एउटातर्फ मैले अलिकति धेरै नजर दिएँ। एउटा सानो बालक, मेरो छोरोभन्दा सानो छ, उसको बाबाको पनि दुर्घटनामा परेर ज्यान गएको रहेछ। त्यो बालकको आमा कति सम्हालिएर त्यी सबै दृश्यहरू हेर्दैथिइन् र आँसुलाई पचाइरहेकी थिइन्केही आफन्तहरूको आड़मा उनले कसरी त्यो सहन गर्दैथिइन्, त्यो म आफैले अनुभूत गरेँ। परेको मानिसले आफूलाई परेको नै ठूलो देख्छ, यो साँचो होमैले आफ्नो वेदनालाई सहन गर्नलाई कति ऊर्जा खर्चिरहेको थिएँ, यस्तोमा अरुको वेदनातिर पनि नजर लगाउनुपर्ने रहेछ, कम्तिमा आफूभित्र सहानुभूति उब्जिँदोरहेछ। सहानुभूति उब्जिँदा मनलाई बुझाउन, थम्थम्याउन अलिकति ढाडस पुगेजस्तो हुँदोरहेछ। त्यसैले होला, रोंगोतिर जाँदाको बाटोभरिको यात्रामा मैले आफ्नो मनलाई दह्रो गर्ने, मन बनाउने कुराहरू सोचें। अब मैले छोराको बारेमा सोच्नुपर्छ, मन दह्रो गर्नुपर्छ। टीकाका अधुरा रहेका सपनाहरू मैले छोरासित मिलेर पूरा गर्नुपर्छ, आदि। छोराले पनि हिजो रुँदैरुँदै भन्यो, म आमाको आत्मालाई अशान्ति हुने काम गर्दिन। म आमाका सबै आशाहरू पूरा गर्नेछु, तपाईं र म भएर आमाका अपेक्षाहरू पूरा गर्नुपर्छ।
सिलगढ़ीबाट घर पुग्दा रातको 9 बजेको थियो। मैले टीकालाई सुन्दर वस्त्रहरूमा सजाएर बेहुली बनाइ घर ल्याइपुऱ्याउँदाको समय सम्झिएँ, यस्तै समय थियो त्यो। त्यतिखेर गाउँमा बिजुली आइपुगेकै थिएन। टर्चहरू लिएर र पुल्ठो बालेर सड़कदेखि घरसम्मको बाटो तय गरिएको थियो। आज फेरि उदास वस्त्रहरूमा सजाएर (श्वेत वस्त्र) उनलाई त्यही समयमा घरमा लिएर आएको छु, त्यतिबेला जन्तहरूथिए साथमा, अहिले ....... त्यतिबेला हर्षमय थियो परिवेश तर अहिले ........! त्यतिखेर उपहारहरू लिएर भेला भएका सबै आमन्त्रितहरू अनि अहिले खादा, माला र एउटा थुङ्गा फूल लिएर। त्यतिबेला उनलाई यो घर सजाउनलाई ल्याएको थिएँ तर अहिले उनलाई सदाको निम्ति विदा गर्नलाई ल्याएको छु। वातावरण दु:खमय बन्यो। आमा रुँदै भन्नुहुन्छ, हिजो 10 मिनटअघि त मसित फोनमा बात मारेको, हन हे दैव यो के भाको यस्तो। मेरा त आँखा राता-राता भएका थिए, अनि त्यहाँ आउने सबैको अनुहार मलिन बनेको थियो। आउनेहरू सबैलाई मैले सायदै याद गर्नसकिन हुँला तर म भन्छु, मेरा सबै इष्ट-मित्र, आफन्त र छर-छिमेकीहरू आएका थिए। कस्तो जोजन, 17 तारीक विश्वकर्म पूजाको दिन त हाम्रो सल्लाह भएको थियो कि दशैंमा घर जानुपर्छ। 29 तारीक सिलगढ़ीबाट हिँड़ौं, 1 तारीक घरबाट ससुराली जाऔँ भनेर। 18-मा घरजाने छुट्टी मिलाउने कुराहरू भयो। 19-को दिन दुर्घट्ना भयो। त्यो दिन थियो जमरे औंसीको दिन। कस्तो जोजन, टीकाको अन्तिम काम पनि टीकाकै दिन पर्नेभयो। तर टीकाको दिन पऱ्यो भनेर पण्डितजीले 30 सेप्टेम्बरको दिन नगरी, 1 अक्टोबरको दिन अन्तिम कार्य तय गरिदिए। समयको कोल्टे फेराइले मलाई धक्का दिएर अचेत बनाइदिएको थियो, एउटा यन्त्रवत, फगत एउटा यन्त्रवत म चलिरहेको थिएँ, यी सबै दृश्यहरू हेर्दैहेर्दे।
घर राति पुऱ्यायौं, त्यसैले भोलिपल्ट टीकाको शवको अन्तिम यात्राको समय निर्धारित भयो। सिलगढ़ीबाट पनि मित्रहरू तथा आफन्तहरू आएका थिए। भोलिपल्ट बिहान, बिहीबार – गाउँघरका सबै इष्टमित्रहरू तथा आफन्तहरूको आगमनपछि टीकाको शव शङ्खध्वनिसितै पारम्परिक विधानानुसार निकालेर खोलातिर लग्यौं, छेउछेउमै हिँड़िरह्यो छोरा विजेश। अघिल्लो दिन त दिनभरिजस्तै पानी परिरह्यो, तर आज टीकाको शव खोला लिएर जाँदा घमाइलो भइरह्यो। दागबत्ती दिएपछि आगो लगाइयो, एकैक्षणमा, लगभग 45 मिनटभित्रै उनको देह जलेर खरानी भयो। उनको दहनबाट उठेको धूँवा आकाशमा कता-कता भेला हुँदैगरेका बादलहरूसित गई मिल्दैथियो। त्यतिबेला मैले उनको आत्माको चीर शान्तिको कामना गरें अनि अर्को जन्ममा उनीसित भेट हुँदा उनको जीवन यति छोटो नहोस् भनें – सायदै ईश्वरसित। याद आयो, टीकाले भनेकी थिइन् एकचोटि, ‘ विवाह हुँदा अग्निमा नौ फेरो किन लिइन्छ?’ मैले उत्तर दिएको थिएँ, त्यो एउटा रीत हो, चलन हो, अग्निलाई यो केटा र यो केटी अब जोडी भए है भनेर साक्षी राखिएको हो।‘ उनले भनिन्, होइन, खासमा सात होइन नौ फेरो लिनुपर्छमलाई पनि पहिला त थाहा थिएन तर अहिले थाहा भयो। नौ फेरो लिनुको अर्थ हामी नौ जुनीसम्म (नौ जन्मसम्म) पति-पत्नीको रूपमा जोड़ी बन्न पाऔं र यो अदृश्य बन्धनसूत्र अग्निमार्फत  कार्यान्वयन होस् भनेर साक्षी राखेका हौं। त्यसैले हामी विवाहमा अग्निलाई साक्षी राखेर नौ फेरो लगाउँछौं। यो यस्तो बन्धन हो जुन एउटा जुनीमा समाप्त नहुँदोरहेछ। जुनीजुनीसम्म त्यस बन्धनले एक स्त्री र एक पुरुषलाई बाँधेर जोड़ी बनाइदिँदो रहेछ। अर्धाङ्गिनी अथवा आधा अङ्ग। हो रहेछ। र त आज म उनी जाँदा आधाकल्चो बनें त। र त आज म आधामरो बनें त। उनी जिउँदो हुँदा त उनलाई चोट लाग्दा उनलाई भन्दा धेरै त मलाई दुख्थ्यो, उनले भन्दा धेरै त मैले सहनुपर्थ्यो, खप्नुपर्थ्यो। उनलाई ज्वरो आउँदा म अलसतलस हुन्थें। के हो तपाईं त?’ उनी हप्काएजस्तो गर्थिन् मलाई तर उनलाई पनि त्यस्तै हुन्थ्यो नि, त्यो उनले नभने पनि म अनुभूत गर्थें। म ज्वरोले थलिएको बेला उनको चेहरामा आत्तेस मैले देखेको थिएँउनी आत्तिएकी थिइन्। यति चाँड़ो औषधि लिएर आई मलाई ख्वाइन् अनि पानी पट्टी गरिन्त्यो उनको मप्रतिको समर्पणभाव देखेर नै म भोलिपल्टै ठीक भएको थिएँ।
उनको देहलाई अग्निले खरानी बनाइसकेपछि चिता पखालेर मलामीसितै हामी फर्कियौं। त्यो कस्तो घटना थियो? अझसम्म अचम्म लागिरहेछ। उदेक लाग्छ, एकैछिन अगाड़ि बोलेको मान्छे, एकैछिन पछाड़ि यो संसारमा छैन। सायद आइय्या पनि भन्न पाइनन्. आमा पनि भन्न पाइनन्. आज खरानी र धूवाँ बनेर यही धरतिभित्र हराइन्, शून्यताममा कतै। यस्तो पनि हुन सक्दोरहेछ। न त सपना बिग्रेको थियो, न त विपनामा कुनै सङ्केत मिलेको थियो यति भयङ्कर दुर्घटनाकोकति सामान्य ढङ्गमा यति भयङ्कर दुर्घटना भयो। दागबत्ती दिनअघि पनि हेरें मैले उनको मुहारयद्यपि निधारमाथि ठूला दुई सिलाई (पोस्ट मार्टम गरिएर सिलाइएको घाउ) थियो, उनको मुहार पूर्णिमाकै जुनजस्तो झलमल्ल थियो। हेर्नआउनेहरूले पनि भने, गुड़िया (बेबी डलजस्तो कत्ति राम्रो अनुहार) जस्तो, पुतलीको जस्तो राम्रो मुहार। पाँच दिनअघि तीजको दिन त उनले उपवास बसेर मन्दिरमा गई पूजार्चना गरेकी थिइन्। आफ्नो पतिको लामो आयु माग्ने अनि आफ्नो चाहीं नमाग्नेमैले त उनलाई प्रत्येकचोटि आयुष्मति भव, भाग्यवति भव, ऐश्वर्यवति भव भनेर आशीर्वाद दिनेगर्थें। तीजको साँझमा मन्दिरबाट घर फर्किएपछि उपवास सकेर उनले मेरो चरण धोइन् र पानी खाइन्। मैले भनें, मुखमा चाहीं नहाल है पानी। उनले चरण धोएर त्यो पानी आफ्नो शीरमा छर्किन् – तीनचोटि अनि मुखमा हालिन्। त्यसपछि ढोग गरिन्। मैले उनलाई धेरैधेरै आशीर्वाद दिएँ। टीकाजस्तो पत्नी पाउनु पनि त एउटा अहोभाग्य रहेछ भन्ने मैले ठानेको हुँ। उनले त्यतीबेला केही बोलिनन्, आफ्नो कार्य सिध्याएपछि सोधिन्, किन मुखमा पानी नहाल्नु?’ मलाई त लाग्छ कि यो एकपाखे नियम हो। आफ्नो पत्नीलाई गोड़ामुनि राख्ने कस्तो चलन हो यो, के यसलाई राम्रो संस्कार मान्नु रउनी आफ्नो परम्परा र संस्कारलाई धेरै मान्यता दिन्थिन्, यो विषयमाथिको वहस उनको एउटै कुराले सकिदियो – तपाईंलाई के भयो तपानी पिउने त म हुँ नि। मलाई त यो चलन राम्रो लाग्छ। म यो जुनीमा मात्र होइन सबै जुनीमा यो हजुरको पत्नी बन्नपाऊँ भन्ने कामना गरेर म हजुरको चरण धोएको पानी शीरमा लगाउँछु अनि मुखमा पनि। मलाई राम्रो लाग्छ त हजुरलाई के भयो?’ उनलाई राम्रो लाग्छ त मैले के भन्नेउनको यो कुरालाई जवाफ थिएन मसित।
घटना हुनभन्दा एक महीनाअघि, 6 अगस्तको दिन त म पहिलोचोटि पशुपतिनाथको मन्दिरमा पुगेको थिएँ- नेपालको राजधानी काठमाडौंमा। भाइ शिवलाई भेट्नजाँदा उसित म मन्दिर पुगेँ, बिहानै अनि मन्दिरको परिक्रमा गर्दै मैले आफ्नो परिवारको, पत्नी टीकाको सुस्वास्थ्य, दीर्घायु र आनन्दमय जीवनको कामना गरें, त्यसपछि छोराको राम्रो पढाइ, दीर्घायु, सुस्वास्थ्य अनि आनन्दमय जीवनको कामना गरें अनि आफ्नो पनि भलो होस् भोला भनेर कामना गरिसकेपछि आफ्ना मातापिता र सबै भाइ-बहिनी र परिवारका अन्य सदस्यहरूको भलो र उन्नतिको कामना गरें। यति मात्र होइन, मन्दिरको तीन परिक्रमामा मैले गाउँ, छरछिमेकी र क्षेत्रमै शान्ति होस् भन्ने कामना गरेँ। म अचानक काठमाडौं हिँड़ें, साथमा टीकालाई पनि लिएर आउनपाएको थिएँ, नानीलाई पनि लिएर आउनपाएको थिएँ भने कत्ति आनन्द हुन्थ्यो होला भन्ने सोचें। तर मैले प्रार्थना त गरेको थिएँ। किन ईश्वरले मेरो प्रार्थना सुन्नुभएन? के काल ईश्वरभन्दा पनि शक्तिशाली हो रआखिर मानिसको आयु 60-70 वर्षको त हुनसक्छ नि त। किन मेरो आत्मीय टीकालाई यसरी टपक्क टिपेर लगियो? ईश्वरसित मैले यस्ता हजारौं प्रश्न गरें, अनि सयौंचोटि दोहोऱ्याइ-तेहेऱ्याइ गरें। घरमा पुगेपछि सन्नटा आएको त्यो परिवेशमा म घोत्लिएर, घोरिएर धुम्धुम्ति बसिरहें। छोराको वर्तमन्न संस्कार भएको थिएन र सानै पनि भएको हुँदा कोरामा भाइ शिव (जसलाई भेट्न म काठमाडौं पुगेको थिएँ, उ त्यहाँ काम गर्दैथियो)-को साथमा लगाएर छोरा विजेशलाई पनि राखियो। निर्बोध बालकहरूलाई ईश्वरले किन टुहुरा-टुहुरी बनाउँछन् होलामेरो मात्र होइन, सबैतिर हेरेर नै मैले भनेको हुँ/सोधेको हुँ। मसित यसको उत्तर छैन। एक, दुइ, तीन गर्दै दिनहरू बित्दैछन्, पण्डितजीले विधानअनुसार काज-क्रिया गराउँदैछन्। हामी बिहान नुहाएर पानी चढ़ाउँदैछौं। नुन-तेल 13 दिनसम्म चल्दैन। हेर्न-भेट्न आउनेहरू आउँदैछन्, टाढा-नजीकबाट। दिनहुँ। छिमेकी र इष्टमित्रहरूको सघाउ-पघाउ र सहयोगको त म यो जन्ममा मात्र होइन, तीन-चार जन्मसम्म ऋणि हुनेछु। उहाँहरूले त्यतिधेरै गुण लगाउनुभएको छ जुन म यो जन्ममा तिरेर सक्दिन। उहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धेरैधेरै मानिसहरू, शुभेच्छुकहरू, आफन्तहरू र इष्टमित्रहरूप्रति।
क्रमशः

Comments